बरहथवा घटनामा अन्याय भए कडा आन्दोलन गर्ने चेतावनी : कांग्रेस उपसभापति सिंह
6 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ११ गते । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको बरहथवा घटनामा पीडितहरूलाई न्याय नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। असार महिनाको शनिबार बिहान बरहथवा नगरपालिका–४ खैराटोलमा सडक विस्तारको क्रममा भएको झडपमा आठ जना स्थानीय घाइते भएका थिए। पूर्वमन्त्री सिंहले मंगलबार घटनास्थल पुगेर घाइते र पीडित परिवारसँग भेट गरेका थिए। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पीडितलाई पिडक बनाउने प्रयास भए कांग्रेस चुप नबस्ने र आवश्यकता परे सडक आन्दोलनमा उत्रने बताए।
झडपमा टीकाबहादुर कार्की, कुलबहादुर कार्की, सञ्जय कुशवाह, रमेश महतो, इन्दु देवी, प्रदीप कुशवाह, अनिल कुशवाह र उमेश महतो घाइते भएका थिए भने केही सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ। सिंहले घटनाको सत्य, तथ्य र निष्पक्ष छानबिनको माग गर्दै दोषी जोसुकै भए पनि कडा कारबाही हुनुपर्ने बताए। उनले अराजकता फैलाउने र संरक्षण दिने व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाउन गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन्। सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार यस्ता घटनाले जनतामा त्रास फैलाउनुका साथै सुरक्षा निकायप्रति विश्वास कमजोर बनाइरहेको छ। यसअघि सडक विस्तारकै क्रममा महिलामाथि भएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थानीय आक्रोश चुलिएको थियो।
कमेन्ट गर्नुहोस्
view comments