सिरहाका १६ स्थानीय तहले सार्वजनिक गरे नयाँ बजेट, सिरहा नगरपालिका भने पछि पर्‍यो

7 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ११ गते ।  सिरहाका १७ मध्ये १६ स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आय–व्ययसहितको अनुमानित बजेट गाउँ तथा नगर सभामार्फत् सार्वजनिक गरेका छन्। तर सदरमुकामसमेत रहेको सिरहा नगरपालिकाले अहिलेसम्म बजेट मात्रै होइन, नीति तथा कार्यक्रमसमेत सार्वजनिक गर्न सकेको छैन। अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र नगरसभा सम्पन्न गर्नु पर्ने प्रावधान भए पनि नगरपालिकाले तोकिएको समयसीमा मिचेको हो। प्रमुख प्रशासकीय अधिकृत इद्रीश राइनका अनुसार नगर प्रमुख नवीन कुमार यादवको व्यस्तताका कारण बजेट सार्वजनिक गर्न ढिलाइ भएको हो। नगर प्रमुखसँग सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आउन सकेनन्।

सिरहाका अन्य नगर–गाउँपालिकाले भने समयमै आगामी वर्षको बजेट प्रस्तुत गरेका छन्। लहान नगरपालिकाले सबैभन्दा ठूलो १ अर्ब ६७ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ भने गोलबजारले ८१ करोड ८९ लाख, मिर्चैयाले ७० करोड ११ लाख र धनगढीमाई नगरपालिकाले ६८ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। गाउँपालिकामध्ये सबैभन्दा ठूलो बजेट अर्नमा गाउँपालिकाले ४९ करोड ९६ लाख रुपैयाँ प्रस्ताव गरेको छ। बाँकी गाउँपालिका तथा नगरपालिका पनि ३० देखि ६० करोडको दायरामा बजेट सार्वजनिक गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?