१४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सहमहामन्त्री थप गर्न सक्ने

4 वर्ष पहिले प्रकाशित

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११:३० मा केन्द्रीय समिति बैठक बस्नेछ।बैठक मुख्यगरी शुक्रबारदेखि काठमाडौंमा हुने पार्टीको महाधिवेशन तयारीबारे छलफलमा केन्द्रित रहने उनले बताए। नेता व्यवस्थापनका लागि सहमहामन्त्री कम्तीमा दुई जना थप गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले माग गरिरहेका छन्।

कांग्रेस विधानअनुसार आठ जना सहमहामन्त्री रहने व्यवस्था छ। तर खुलातर्फ सहमहामन्त्री एक जना पनि नभएकोले कम्तीमा २ जना खुलातर्फ सहमहामन्त्री पद राखिनुपर्ने माग भइरहेका छन्।

देउवा पक्षका नेता गोविन्द भट्टराई र पौडेल पक्षका नेता दीपक गिरीले खुला सहमहामन्त्री पद थप गर्नुपर्ने आवाज उठाइरहेका छन्। यसबारे सभापति देउवा सकारात्मक देखिए पनि पहिले भने वरिष्ठ नेता पौडेल मानेका थिएनन्।

कांग्रेसले लामो समयपछि केन्द्रीय कार्यालयमा बैठक राखेको छ। क्रियाशील सदस्यतालगायत विवादले कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना दिइरहेपछि सभापति देउवाकै निवास बूढानिलकण्ठमा बैठक बस्ने गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?