संग्रामपुरमा नयाँ वडा कार्यालय भवनको शिलान्यास, ४० लाखको लागतमा यसै वर्ष सम्पन्न गर्ने योजना

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत २५ गते ।रौतहटको गढिमाइ नगरपालिका–४ संग्रामपुरमा नयाँ वडा कार्यालय भवनको शिलान्यास गरिएको छ। आइतबार एक औपचारिक समारोहबीच प्रदेश सांसद तथा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले भवनको शिलान्यास गर्नुभयो। साविकको गाविस कार्यालयको पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष चुल्हाई रायले जानकारी दिनुभयो। सांसद यादवले स्थानीय आवश्यकता अनुसारको विकास निर्माण आफनो पहिलो प्राथमिकता रहेको बताउँदै उपभोक्ता समितिलाई गुणस्तरीय र समयमै भवन निर्माण गर्न आग्रह गर्नुभयो।

गढिमाइ नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले वडा कार्यालय भवन निर्माणका लागि मधेश प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो। उहाँका अनुसार यो भवन चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। भवन जीर्ण भएपछि हाल वडा कार्यालय धर्मशालाबाट सञ्चालन हुँदै आएको छ, जसका कारण सेवा प्रवाहमा समस्या हुँदै आएको जनाइएको छ। नयाँ भवन निर्माणपछि सम्पूर्ण वडावासीले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?