रामनवमी पर्व आज श्रद्धाभावका साथ मनाइँदै, जनकपुर र अयोध्यामा विशेष रौनक
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २४ गते । रामनवमीको पावन अवसरमा आज देशभर भगवान श्रीरामचन्द्रको पूजा–आराधना गरिँदैछ। हिन्दू धर्मावलम्बीहरू चैत शुक्ल नवमीका दिन भगवान रामको जन्म भएको विश्वासका साथ श्रद्धा र भक्तिपूर्वक यस पर्व मनाउने गर्दछन्। धार्मिक मान्यताअनुसार आजको दिन रामको पूजा र ध्यान गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
रामनवमीको अवसरमा विशेषगरी जनकपुरधाम र भारतको अयोध्यामा भव्य रूपमा पर्व मनाउने परम्परा रहेको छ। यी पवित्र स्थलहरूमा रामलीला देखाउने परम्पराले पर्वमा झनै धार्मिक र सांस्कृतिक रौनक थप्ने गर्छ। सत्यको पक्षमा विजय प्राप्त गर्ने श्रीरामको आदर्श जीवन सम्झेर यो पर्व मनाइने गरिन्छ।
जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा आज विशेष मेला लागेको छ। नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट हजारौं श्रद्धालु भक्तजनहरू जनकपुरधाममा उपस्थित भएका छन्। मन्दिर परिसरमा बिहानैदेखि पूजा, भजन, कीर्तन तथा धार्मिक कार्यक्रमहरू जारी छन्।
पर्वको अवसरमा जनकपुरलगायत देशभरका राम मन्दिरहरूमा विशेष पूजा आराधना भइरहेको छ। विभिन्न धार्मिक संस्थाहरूले पनि आजको दिनलाई विशेष बनाउने उद्देश्यले धार्मिक सभाहरूको आयोजना गरेका छन्।
सरकारले रामनवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। बिदाका कारण धेरै मानिसहरू मठमन्दिर पुगेर पूजापाठ तथा दर्शनमा सहभागी भइरहेका छन्। पर्वले धार्मिक चेतना मात्र होइन, सांस्कृतिक एकता र सद्भावको सन्देश पनि फैलाउने विश्वास गरिन्छ।
कमेन्ट गर्नुहोस्
view comments