महोत्तरी मालपोत कार्यालयका नायब सुब्बासहित तीन जनाविरुद्ध भ्रष्टाचार अभियोग
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २२ गते ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगपत्र दायर गरेको छ। चौधरीसँगै कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतो पनि अभियोगित छन्।
सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो। उनीहरूले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्ने तथा प्रक्रिया सहज बनाइदिने बहानामा घुस मागिरहेका थिए भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा तीनै जनाको मिलोमतोमा सेवाग्राहीलाई लालपुर्जा बनाइदिने नाममा क्षेत्रफलसमेत हेरफेर गरिएको पाइएपछि भ्रष्टाचारमा संलग्न ठहर गर्दै कारबाही प्रक्रिया अगाडि बढाइएको हो। उनीहरूविरुद्ध एक महिनादेखि छ महिनासम्म कैद सजाय र ३५ हजार रुपैयाँ बिगो असुलउपरको मागदाबी गरिएको अख्तियारले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments