बारामा डेढ क्विन्टल गाँजासहित चार जना पक्राउ

16 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत १३ गते । बारामा प्रहरीले डेढ क्विन्टल गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। मकवानपुर र बाराको चुरे क्षेत्रमा उत्पादन भएको गाँजा भारततर्फ पठाउन गोदाम गर्दै गर्दा उनीहरू बुधबार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार पक्राउ पर्नेहरू भरिया मात्र भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२२ का ४२ वर्षीय बुद्ध घलान, वडा ८ का ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय बीरबहादुर डम्बा र हेटौंडा उपमहानगरपालिका–१५ का २७ वर्षीय सोमलाल पाख्रिन पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा प्रहरीले जितपुर सिमराको औराहास्थित दुधौरा खोलाको बाटोमा गाँजा बरामद गरेको हो। पक्राउ परेका व्यक्तिहरू खोलाको बाटो हुँदै टाउकोमा बोकेर गाँजा बोक्दै थिए। इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?