बर्दिबास रेल्वे आयोजना पीडितको आन्दोलन जारी, मुआब्जा विवाद चर्किंदै

22 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत १२ गते । बर्दिबास रेल्वे आयोजना पीडितहरू ६ दिनदेखि आन्दोलनमा छन्। मुआब्जा नपाएको लगायत विभिन्न समस्या समाधानको माग राख्दै उनीहरू रेल विभाग अगाडि धर्नामा बसेका छन्। रेल विभागका प्रवक्ता कमलकुमार साहले विभागले समस्या समाधानका लागि पहल गरिरहेको दाबी गरे पनि हालसम्म ठोस निर्णय नभएको बताएका छन्। उनका अनुसार मुआब्जा वितरण जिल्ला प्रशासनबाट हुने भएकाले सम्बन्धित निकायमा पत्राचार गरिसकिएको छ। तर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले आफूलाई यसबारे जानकारी नभएको बताउँदै विभागबाटै बुझ्न आग्रह गरेका छन्।

पीडितहरूका अनुसार, १२ वर्षदेखि रोक्का रहेको जग्गाको मुआब्जा नपाएको कारण उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्। उनीहरूले जनकपुरस्थित रेल्वे कार्यालय प्रमुख विनोदकुमार ओझाले मुआब्जा वितरणमा अनियमितता गरेको आरोप लगाएका छन्। कतिपयले कट्ठाको १५ लाख रुपैयाँ पाउनु पर्ने ठाउँमा १० लाख मात्रै पाएको गुनासो गरेका छन्, भने एउटै क्षेत्रमा कसैलाई डेढ लाख र कसैलाई ६ लाख रुपैयाँ मुआब्जा दिइएको भन्दै विभेद भएको बताएका छन्। पीडितहरूले व्यक्तिगत तथा सामूहिक रूपमा समस्या समाधानको माग राखे पनि सुनुवाइ नभएको आरोप लगाएका छन्। उनीहरूले सरकारलाई छिटो न्यायोचित मुआब्जा वितरण गर्न आग्रह गर्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?