सर्लाही बलात्कार घटना: अभियुक्त फरार, हाजिरी जमानीकर्ता पक्राउ
जनकपुरधाम, चैत १२ गते । सर्लाहीको हरिवन नगरपालिका–१, भोक्टेनीमा एक ४५ वर्षीय महिला आफ्नै छिमेकीबाट बलात्कृत भएको घटनामा संलग्न अभियुक्त अझै फरार रहेका छन्। फागुन २१ गते राति स्थानीय जिवछ महतो कोईरीले घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन्। घटना भोलिपल्ट इलाका प्रहरी कार्यालय, हरिवनमा उजुरी दिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दै अभियुक्तलाई नियन्त्रणमा लिएको थियो। तर, फागुन २० गते अभियुक्तकी आमाको निधन भएको कारण देखाई इन्द्रदेव महतोले हाजिरी जमानीमा अभियुक्तलाई छुटाएका थिए।
अभियुक्त काज किरिया सम्पन्न भए पनि प्रहरी समक्ष उपस्थित नभई फरार भएपछि पीडित परिवारले घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। केही स्थानीय नेताहरूले पीडित पक्षलाई आर्थिक प्रलोभन दिने प्रयास गरेको पनि आरोप लागेको छ। यसैबीच, सोमबार प्रहरीले अभियुक्तको हाजिरी जमानी लिने इन्द्रदेव महतोलाई पक्राउ गरेको छ। पीडित परिवारले मुख्य अभियुक्तलाई चाँडो पक्राउ गरी घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन्, भने प्रहरीले अभियुक्तको खोजी तीव्र पारिएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments