सिरहामा भारतीय नागरिकलाई नक्कली बुवा बनाएर नागरिकता दिने पक्राउ
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत ६ गते । सिरहा जिल्लामा भारतीय नागरिकलाई नागरिकता दिलाउन नक्कली बुवा बनेका नरहा गाउँपालिका-३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मियाँलाई मंगलबार साँझ घरबाटै नियन्त्रणमा लिइएको हो। सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बुधबार जिल्ला अदालतबाट म्याद लिएर विस्तृत अनुसन्धान अघि बढाइने जानकारी दिए। उनले यस घटनामा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे।
नरहा गाउँपालिका-३ को वडा कार्यालयको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई २०८० असार २६ गते नेपाली नागरिकता प्रदान गरेको थियो। अमानत मियाँ र उनकी पत्नी रजिना खातुन नक्कली अभिभावक बनेर नागरिकता दिलाउने योजनामा संलग्न थिए। वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले दुई लाख भारतीय रुपैयाँ घुस लिएर नागरिकता प्रदान गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयमा उजुरी परेको छ।
यस विषयमा कारबाहीमा ढिलाइ भइरहेको आरोप लागिरहेको बेला कान्तिपुरले यससम्बन्धी समाचार सार्वजनिक गरेपछि संसद्मा समेत छलफल भएको थियो। सांसद राजकिशोर यादवले वडाध्यक्ष सत्तारुढ दल एमालेका भएकाले उनलाई संरक्षण गरिएको आरोप लगाए। नागरिकता प्रकरणमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्रसमेत बुझाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments