सबैला नगरपालिकामा चोक नामकरण विवाद समाधानका लागि सर्वपक्षीय सहमति

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत ५ गते । धनुषाको सबैला नगरपालिका–९ भठिहनमा चोकको नामकरणलाई लिएर उत्पन्न विवाद समाधान गर्न सर्वपक्षीय सहमति जुटेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम, नगरपालिकाले आगामी दुई महिनाभित्र विवादित चोकको नामकरण गर्ने निर्णय गरेको छ। यस प्रक्रियामा आवश्यकतानुसार जिल्ला सुरक्षा समितिलाई आमन्त्रितको रूपमा सहभागी गराइनेछ।

विवादका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा क्षतिपूर्तिको लागि जिल्ला सुरक्षा समितिले निर्णय गरी गृह मन्त्रालयलाई सिफारिस पठाउने सहमति भएको छ। नामकरण नभएसम्म विवादित चोकको वर्तमान अवस्था यथावत् राख्ने र सबै पक्ष यसमा सहमत भएका छन्।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुख नायब उपरीक्षकको संयोजकत्वमा गठित समितिको प्रतिवेदन अनुसार आवश्यक कारबाही गरिनेछ। नामकरण सम्पन्न नभएसम्म सबै पक्षले एकअर्काप्रति सम्मानजनक व्यवहार गर्ने प्रतिबद्धता जनाएका छन्।

यसअघि, भठिहनमा चोकको नामकरणको विषयलाई लिएर दुई पक्षबीच विवाद उत्पन्न भएको थियो। एक पक्षले 'यादव चोक' को बोर्ड राखेपछि अर्को पक्षले विरोध जनाउँदै झडपको स्थिति सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।

सर्वपक्षीय सहमतिपछि, सबैला नगरपालिकाका मेयर कारीराम यादवले चोकको नामकरण सर्वसम्मत रूपमा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सामाजिक सद्भाव कायम राख्दै सबै समुदायको सम्मान हुने गरी नामकरण प्रक्रिया अघि बढाइने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?