सिरहा–सप्तरीमा अनुदानको चैते धानको बीउ नउम्रिएपछि किसान चिन्तित

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत ५ गते । सिरहा र सप्तरी जिल्लाका चार सय हेक्टर जमिनमा उत्पादन गरिने चैते धानका लागि अनुदानमा उपलब्ध गराइएको बीउ नउम्रिएपछि किसानहरू मारमा परेका छन्। सुरुङगा नगरपालिका–७ चकदहका एक दर्जनभन्दा बढी किसानहरूले राधाकृष्ण सहकारी र रामजानकी कृषि सहकारीबाट अनुदानमा प्राप्त बीउ पटक्कै नउम्रिएको गुनासो गर्दै क्षतिपूर्तिको माग गरेका छन्। २५ वर्षदेखि चैते धान खेती गर्दै आएका किसानहरू प्रति कठ्ठा ६ हजारको दरले उत्पादन गर्दै आए पनि यस वर्ष बीउ अंकुरण नहुँदा उत्पादन प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।

किसानहरूले प्रयोग गरेको बीउ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सिरहा प्राविधिक जोन सप्तरी सुरुङगा कदमाहाका प्राविधिक चन्दन सुनरैतको सिफारिसमा सोनाई बीउ भण्डार, राजविराजबाट खरिद गरिएको थियो। तर, बीउ नउम्रिएपछि स्थानीय किसान साने यादव लगायतका किसानहरूले कार्यालय र बीउ वितरण केन्द्रबीच मिलेमतोमा कमसल बीउ वितरण भएको आरोप लगाएका छन्। धान जोन प्राविधिक इकाइका सुनरैतका अनुसार सिरहा–सप्तरीका अन्य स्थानमा भने सोही बीउ उम्रिएको भए पनि सुरुङगा सप्तरीमा मात्र बीउ नउम्रिएकोले थप अनुसन्धान गरिने बताइएको छ।

यस वर्ष सिरहा र सप्तरीका किसानलाई बीउ, सिँचाइ तथा प्राविधिक सहयोगका लागि ३४ लाख रकम छुट्याइएको छ। साथै, सोनाई बीउ भण्डारले ७ टन बीउ वितरण गरेकोमा सुरुङगा नगरपालिका–७ बाहेक अन्य स्थानमा बीउ उम्रिएको दाबी गरिएको छ। महोत्तरी जलेश्वरको प्रयोगशालामा परीक्षण गर्दा ८३ प्रतिशत बीउ अंकुरण भएको देखिए पनि स्थानीय किसानहरूले बीउ गुणस्तरहीन भएको भन्दै पुनः परीक्षण र क्षतिपूर्तिको माग गरिरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?