जनकपुरमा युवकको हत्या प्रकरण : शवसहित सडकमा प्रदर्शन
1 महीना पहिले प्रकाशित

जनकपुधाम, चैत ३ गते । होली खेल्ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका १८ वर्षीय आशु यादवका आफन्त र स्थानीयले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन्। जनकपुर-जलेश्वर सडकखण्ड अवरुद्ध गर्दै उनीहरूले हत्यामा संलग्न सबै दोषीलाई पक्राउ गर्न र उचित क्षतिपूर्ति दिन माग गरेका छन्।
धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, शनिबार साँझ ५ बजे होली खेल्ने क्रममा विवाद हुँदा २१ वर्षीय धर्मेन्द्र महतोले आशु यादवमाथि छुरा प्रहार गरेका थिए। छाती, ढाड र पेटमा गम्भीर चोट लागेका आशुको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको थियो।
प्रहरीले घटनास्थलबाटै आरोपित धर्मेन्द्र महतोलाई छुरासहित पक्राउ गरिसकेको छ। आशुको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको थियो, तर परिवारजन र स्थानीयहरूले दोषीलाई तत्काल कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments