अवैध रूपमा भित्रिने सेतो अण्डा नियन्त्रण अभियान तीव्र
1 महीना पहिले प्रकाशित

जनकपुधाम, चैत ३ गते । सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थको नियन्त्रण गर्न उच्च सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएपछि सशस्त्र प्रहरीले यसलाई थप सक्रियताका साथ अघि बढाएको हो।
सशस्त्र प्रहरी बलका अनुसार गत फागुन महिनामा मात्रै ३२४ क्यारेट सेतो अण्डा बरामद गरी नष्ट गरिएको थियो। त्यसैगरी, चैत २ गते महोत्तरीमा ४५ क्यारेट सेतो अण्डा बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ का प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिए। उनले अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य सामग्रीको नियन्त्रणलाई अभियानकै रूपमा अगाडि बढाइएको बताए।
नेपाल लेयर्स कुखुरापालक संघले बुधबार मुख्यमन्त्री सिंहलाई भेटी भारतबाट भित्रिने अवैध पोल्ट्री उत्पादनले स्वदेशी व्यवसायीहरूलाई क्षति पुर्याइरहेको तथा भारतका विभिन्न प्रान्तमा फैलिएको बर्ड फ्लुको जोखिम नेपालमा ल्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको थियो। त्यसैले, सशस्त्र प्रहरीले सीमामा कडाइ गर्दै सेतो अण्डा लगायतका अवैध पोल्ट्रीजन्य वस्तुहरूको नियन्त्रणलाई थप प्रभावकारी बनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments