मिथिला मध्यमा परिक्रमा सम्पन्न, लाखौं श्रद्धालुको सहभागिता
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत १ गते । धनुषाको मिथिला बिहारी नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट फाल्गुन १५ गते सुरु भएको १५ दिवसीय मिथिला मध्यमा परिक्रमा शुक्रबार जनकपुरधाम फर्किएसँगै सम्पन्न भएको छ। यस धार्मिक यात्रामा लाखौं श्रद्धालु, साधु-सन्त तथा भक्तजनहरूको सहभागिता रहेको थियो।
परिक्रमा मार्गमा धनुषाको हनुमाननगर, भारतको कलना (कल्याणेश्वर), फुलहर (गिरिजास्थान), महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही, भारतको करुणा, विसौल लगायतका स्थानहरूमा १३३ किलोमिटरको यात्रा गर्दै भक्तजनहरूले धार्मिक अनुष्ठान सम्पन्न गरे।
फागु पूर्णिमाको अवसरमा जनकपुरधाममा शुक्रबार बिहान सम्पन्न भएको अन्तगृह परिक्रमा (पञ्चकोशी परिक्रमा) मा पनि लाखौं श्रद्धालुको सहभागिता रहेको थियो। यो परम्परागत धार्मिक अनुष्ठानमा सहभागी हुन नसकेका भक्तजनहरूले अन्तगृह परिक्रमा गरेर १५ दिवसीय परिक्रमाकै फल प्राप्त गर्ने विश्वास रहेको छ। यस परिक्रमा पछि जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चल क्षेत्रमा होली पर्व विधिवत रूपमा सुरु भएको मानिन्छ।
कमेन्ट गर्नुहोस्
view comments