सर्लाहीमा नक्कली नोट बनाउने गिरोहका पाँच सदस्य पक्राउ

1 महीना पहिले प्रकाशित

जनकपुरधाम,फागुन २८ गते । सर्लाही प्रहरीले नक्कली नोट बनाउने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट पक्राउ परेका व्यक्तिहरूमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी र सोही ठाउँकी ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन्।

उनीहरू भारततर्फबाट बा.४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए। विशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा उनीहरूको साथबाट नेपाली नक्कली एक हजार दरका १७६ थान नोट (कुल एक लाख ७६ हजार रुपैयाँ) बरामद गरेको हो। नोटहरू तलमाथि एक-एक वटा सक्कली नोट राखी बीचमा सेतो कागज राखेर बनाइएको थियो।

पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यस गिरोहमा अन्य व्यक्तिहरू समेत संलग्न रहेको आशङ्कामा अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?