कर्जन्हा नगरपालिकामा जनप्रतिनिधिहरूद्वारा तालाबन्दी: कार्यपालिका बैठक र निर्णय कार्यान्वयनमा असन्तुष्टि
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २७ गते । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा वडाध्यक्षहरूले नगरप्रमुख भोला प्रसाद पोखरेल र प्रशासकीय अधिकृत मनहरि बरालमाथि बेथितिको आरोप लगाउँदै कार्यालयमा तालाबन्दी गरेका छन्। वडाध्यक्षहरूको अनुसार, कार्यपालिकाको नियमित बैठक नबस्ने र भएका निर्णयहरू कार्यान्वयनमा आनाकानी हुने गरेको छ। ८ नम्बर वडाका अध्यक्ष शम्भु कुमार व्यार सुडीले भने, "नगरपालिकामा समयमा बैठक बस्दैन, बसिहाले पनि बैठकमा भएका निर्णयहरू निर्णय हुँदैन।"
११ नम्बर वडाका अध्यक्ष किस्मत राईले जनताको सेवा प्रभावित भएको बताउँदै स्वास्थ्य चौकीहरूमा सिटामोलको अभाव र शैक्षिक सत्र समाप्त हुने बेला सेनेटरी प्याड खरिद भएको उल्लेख गरे। ६ नम्बर वडाका अध्यक्ष प्रकाशमान श्रेष्ठले नगरप्रमुख र प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित हुने र बाहिरबाटै काम गर्ने प्रवृत्तिको विरोध गरे। उनले भने, "प्रशासकीय अधिकृत महिनाको २० दिन काठमाडौँमा हुन्छन्। मेयरलाई कार्यालय आउने फुर्सद हुँदैन। यसरी नगरपालिका चल्छ?"
नगरप्रमुख भोला प्रसाद पोखरेलले यो समस्या सामान्य असमझदारीका कारण भएको भन्दै जनप्रतिनिधिहरूबीच छलफल गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments