जनकपुरधाम, फागुन २५ गते । जनमत पार्टीले आर्थिक अनियमितता र ठगी गरेको आरोप लगाउँदै केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई निलम्बन गरेको छ। पार्टीले सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै उनलाई पदबाट हटाएको हो। महोत्तरीको बर्दिवासमा आयोजना हुन लागेको केन्द्रीय समितिको पूर्ण बैठकको पूर्वसन्ध्यामा पार्टीले यो निर्णय लिएको हो।
जनमत पार्टीले यादवले गैरआवासीय मधेशी संघका ६० भन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जहरूबाट लगानी, सेयर तथा लेवीका नाममा करोडौँ रुपैयाँ उठाएको आरोप लगाएको छ। पार्टीको जानकारी तथा अनुमतिबिना संघका पूर्वअध्यक्ष बसन्त कुमार कुसवाहा र इन्जिनियर शम्भुनाथ साहसँग मिलेर उक्त रकम उठाइएको जनाइएको छ। पार्टीले यादवले उठाएको रकमको स्पष्ट विवरण नदिएको, काठमाडौँको कोटेश्वरमा घर तथा प्रवासी होटल सञ्चालन गरेको, जनकपुरमा घर तथा विद्यालय सञ्चालन गरेको तर सो रकमको हिसाब पार्टीलाई नबुझाएको आरोप लगाएको छ।
पार्टी अनुशासन समितिका सदस्य सचिव अनिताकुमारी मण्डलले पठाएको पत्रमा यादवले पार्टीको आर्थिक कारोबारमा पारदर्शिता कायम नगरेको, पटक–पटक हिसाब हेरफेर गरेको, झुठा विवरण प्रस्तुत गरेको, महत्त्वपूर्ण बैठकहरूमा अनुपस्थित रहने तथा पार्टीको निर्णयविरुद्ध षड्यन्त्र गर्ने काम गरेको उल्लेख गरिएको छ। सप्तरी र बाराका निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरूलाई हराउने उद्देश्यले काम गरेको आरोप पनि यादवमाथि लगाइएको छ।
यता, निलम्बनपछि कोषाध्यक्ष यादवले आफूलाई षड्यन्त्रपूर्वक बदनाम गर्न खोजिएको दाबी गरेका छन्। उनले पार्टी अध्यक्ष डा. सिके राउतकै योजनामा आफूलाई किनारा लगाउने प्रयास भइरहेको आरोप लगाए। ‘म माथि लगाइएका सबै आरोप झूटा हुन्,’ यादवले भने, ‘पार्टी निर्माणमा मेरो ठूलो योगदान छ, तर अहिले मलाई नै हटाउन खोजिएको छ।’
यादवले पार्टी निर्माणका लागि आफैंले पाँच करोडभन्दा बढी लगानी गरिसकेको दाबी गर्दै आफ्नो व्यक्तिगत सम्पत्तिलाई गलत रूपमा चित्रण गरिएको बताए। उनले पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण आफूलाई बलिको बोको बनाउन खोजिएको आरोप लगाए। यादवले आफू निर्दोष रहेको दाबी गर्दै पार्टी नेतृत्वलाई पारदर्शिता अपनाउन आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments