प्रदेश प्रमुख भण्डारी : नेपालको संविधानले महिलाको हक सुनिश्चित गर्नु सुखद पक्ष

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २५ गते । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानले महिलाको हक सुनिश्चित गर्नु सुखद पक्ष रहेको बताउनुभएको छ। ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मधेश प्रदेशसहित देशविदेशमा रहेका सम्पूर्ण नेपाली महिलालाई शुभकामना दिँदै उहाँले महिलाको अधिकार प्रवर्द्धनमा संविधानले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

प्रदेश प्रमुख भण्डारीका अनुसार मौलिक हकसहितका संवैधानिक व्यवस्थाले महिलाहरूको जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पहुँच बढाइरहेको छ। यसले महिलाहरूलाई सशक्त बनाउने मात्र नभई समावेशी विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

महिला सशक्तिकरणको विषयमा बोल्दै उहाँले अझै पनि समाजमा विभिन्न प्रकारका लैंगिक असमानता र हिंसाका घटना विद्यमान रहेको बताउनुभयो। उहाँले दाइजो प्रथा, बालविवाह, बोक्सीको आरोपमा गरिने हिंसा, यौन उत्पीडन तथा शारीरिक हिंसाले ‘नारीको सम्मान गर्ने’ हाम्रो मौलिक सभ्यतालाई चुनौती दिएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार, महिलामैत्री नीति, कानूनी व्यवस्था र सचेतनामूलक अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र यी विकृतिहरूलाई अन्त्य गर्न सकिन्छ। प्रदेश सरकार तथा संघीय सरकारले महिला सशक्तिकरणका क्षेत्रमा थप प्रभावकारी पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

महिला दिवसको अवसरमा प्रदेश प्रमुख भण्डारीले सबै पक्षलाई महिलाको हक र सुरक्षाका लागि एकजुट हुन आग्रह गर्नुभयो। महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तिकरणमा अझै धेरै गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले लैंगिक समानता कायम गर्न सबै क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?