श्री महाविर युवा कमिटीको नयाँ नेतृत्व चयन, दिपक साह अध्यक्ष निर्वाचित

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २५ गते । जनकपुरधामको प्रतिष्ठित श्री महाविर युवा कमिटीको नयाँ कार्यसमिति चयन गर्न सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि दिपक साह (मिन्टु) विजयी भएका छन्। कुल ४०७ मतदातामध्ये ३४० मत खसेको यस निर्वाचनमा साहले १७१ मत प्राप्त गर्दै प्रतिस्पर्धी दिपनारायण साहलाई ४ मतले पराजित गरे। अत्यन्तै प्रतिस्पर्धात्मक चुनावी परिणामले समितिको नेतृत्व चयनलाई रोमाञ्चक बनाएको थियो।

अन्य पदाधिकारीहरूमा पनि कडा प्रतिस्पर्धा देखिएको थियो। उपाध्यक्ष पदमा अनिल कुमार साह २१६ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी रञ्जित कुमार साहले १११ मत प्राप्त गरे। महासचिव पदमा भरत कुमार साह १५५ मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी रञ्जन जयसवालले १११ मत पाए। त्यस्तै, सचिव पदमा प्रदिप कुमार साह १५५ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी मनोज कुमार भगतले १०८ मत प्राप्त गरे।

कोषाध्यक्ष पदमा अनिल कुमार प्रसाद पण्डाले २२६ मत ल्याएर स्पष्ट विजय हासिल गरे, भने उनका प्रतिस्पर्धी नितेश जयसवालले ११४ मत प्राप्त गरे। पाँच पदाधिकारीसहित छ कार्यकारी सदस्य मिलेर ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ। विभिन्न पदहरूका लागि २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए, जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित कार्यकारी सदस्यहरूको चयन गरिएको हो।

श्री महाविर युवा कमिटी जनकपुरधामको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संस्था मानिन्छ। विशेष गरी श्री राम मन्दिर र श्री राजदेवी मन्दिरको व्यवस्थापन तथा संरक्षणको जिम्मेवारी समितिले वहन गर्दै आएको छ। नव निर्वाचित समितिले यी ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा धार्मिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

नयाँ नेतृत्व चयनसँगै समितिले आगामी दिनमा मठ-मन्दिरहरूको व्यवस्थापन सुधार, धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धन, तथा समग्र जनकपुरधामको धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ। नव निर्वाचित कार्यसमितिले आफ्नो कार्यकालमा नयाँ योजनाहरू लागू गरी समाजसेवा तथा धार्मिक क्षेत्रको उन्नतिमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?