पत्रकारबारे मधेश सरकारका मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २१ गते । जनकपुरधाममा आयोजित प्रादेशिक ललितकला प्रदर्शनी २०८१ को उद्घाटन समारोहमा मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवद्वारा पत्रकारहरूको भूमिकाबारे दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गरेको छ। मन्त्री यादवले केही पत्रकारहरू फोनमार्फत विज्ञापन तथा योजना माग्ने, नदिए धम्क्याउने, विरोधमा समाचार प्रकाशन गर्ने आरोप लगाएका थिए।
महासंघले कुनै पत्रकारले आचारसंहिताविपरीत कार्य गरेको प्रमाण भए सार्वजनिक गर्न आग्रह गरेको छ। प्रमाण बिना सम्पूर्ण पत्रकार समुदायलाई शंकाको घेरामा पार्ने अभिव्यक्ति अस्वीकार्य रहेको महासंघको भनाइ छ। यदि मन्त्री यादवसँग यस्ता गतिविधि गर्ने पत्रकारको प्रमाण छ भने नाम सार्वजनिक गर्न आग्रह गरिएको छ, अन्यथा गैरजिम्मेवार अभिव्यक्ति सच्याउन अनुरोध गरिएको छ।
नेपाल पत्रकार महासंघले पत्रकारिता पेशाको निष्ठा, विश्वसनीयता र प्रतिष्ठामा आँच आउने कुनै पनि अभिव्यक्तिलाई अस्वीकार गर्ने जनाएको छ। पत्रकारिता पेशाको बदनाम गर्ने जो–कोहीलाई कानुनी कारबाही गर्न महासंघ प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ।
कमेन्ट गर्नुहोस्
view comments