मिथिला माध्यमिकी परिक्रमाः आस्था, संस्कृति र समर्पणको महायात्रा
5 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन १९ गते । मिथिला माध्यमिकी परिक्रमामा सहभागी श्रद्धालुहरूको आज पाँचौँ दिनको विश्रामस्थल जलेश्वर रह्यो। ‘सियावर रामचन्द्रकी जय हो’ र ‘जयशम्भो’ का स्वरमा गुञ्जिएको जलेश्वरमा भक्तिभावले ओतप्रोत यात्रीहरू श्री जलेश्वरनाथ मन्दिरमा दर्शन गर्दै धार्मिक अनुष्ठानमा सहभागी भए।
१३३ किलोमिटरको यो परिक्रमा यात्रामा मिथिलाका चार प्रमुख महादेव मन्दिरहरूको दर्शन गरिन्छ। आज यात्रुहरू पश्चिम सुरका महादेव श्री जलेश्वरनाथका काखमा आइपुगेका छन्। नाङ्गा खुट्टाले गरिने यो परिक्रमा यात्रालाई श्रद्धालुहरूले सांसारिक मायाजालबाट मुक्त भई मोक्ष प्राप्तिको मार्गका रूपमा लिने गरेका छन्।
यात्रुहरूको आगमनसँगै जलेश्वर नगर भक्तिमय बनेको छ। नगरका गल्लीहरू स्वागतद्वार र ध्वजापताकाले सिंगारिएका छन्। स्थानीय बासिन्दाहरूले सर्वत, प्रसाद तथा वस्त्र वितरण गर्दै यात्रुहरूको सेवा गरेका छन्। परिक्रमा पोखरी आसपास र नगरका सडकहरू यात्रुहरूले खचाखच भरिएका छन्।
मिथिला माध्यमिकी परिक्रमा नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने एक महत्त्वपूर्ण परम्परा हो। महाशिवरात्रिपछि प्रारम्भ हुने यस यात्रामा नेपालका धनुषा र महोत्तरी तथा भारतको मधुबनी जिल्लाका विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गरिन्छ।
विशेषगरी श्रीराम र जानकीको विवाहपश्चात् मिथिलामा गरेका विहारको स्मृतिमा १८औँ शताब्दीमा शुरू भएको मानिने यस यात्रामा साधु-सन्तदेखि गृहस्थ भक्तजनसम्मको सहभागिता रहँदै आएको छ।
स्थानीय बासिन्दाहरू यात्रुहरूको सत्कारमा जुटेका छन्। "डोला दर्शन र यात्रु सेवा गर्नु नै पुण्य प्राप्तिको माध्यम हो," जलेश्वरवासी बताउँछन्। यात्राका क्रममा विशेष धार्मिक मेला, भजन-कीर्तन, तथा आध्यात्मिक प्रवचनको आयोजना गरिन्छ।
यात्रुहरूले पाँचौँ दिन जलेश्वरमा विश्राम गरेपछि महोत्तरीका अन्य धार्मिक स्थलहरू हुँदै धनुषा प्रवेश गर्नेछन्। मिथिलाको यो महाकुम्भ निरन्तर भक्तिभाव, समर्पण र धार्मिक उल्लासका साथ अघि बढिरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments