मिथिला मध्यमिकी परिक्रमा कचुरीबाट शुभारम्भ
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन १५ गते । धार्मिक तथा ऐतिहासिक रूपमा प्रसिद्ध १५ दिने मिथिला मध्यमिकी परिक्रमा धनुषाको कचुरीबाट विधिवत् रूपमा सुरु भएको छ। मिथिलाको महाकुम्भका रूपमा चिनिने यस परिक्रमा धनुषाको मिथिला विहारी नगरपालिका–८ स्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित भगवान् रामको डोला निस्किएपछि आरम्भ भएको हो। मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र साधुसन्तहरूले डोला निकाल्दै परिक्रमा शुभारम्भ गरेका छन्।
१५ दिनसम्म चल्ने परिक्रमा यात्रामा हजारौँ साधुसन्त र श्रद्धालु सहभागी हुन्छन्, जसले कुल १३३ किलोमिटरको यात्रा तय गर्नेछन्। परिक्रमाका सहभागीहरू खाली खुट्टा हिँड्दै नेपाल र भारतका १५ स्थानमा रात्रि विश्राम गर्ने परम्परा रहेको छ। कचुरीबाट निस्किएका परिक्रमाका यात्रीहरू पहिलो दिन जनकपुरधामको हनुमानगढीमा पुगेर विश्राम गर्नेछन्, जहाँ सुन्दर सदन मन्दिरबाट किशोरीजी, रामजानकी तथा जनकपुरका अन्य डोला समाहित हुनेछन्।
मध्यमिकी परिक्रमा अठारौँ शताब्दीदेखि निरन्तर रूपमा मनाइँदै आइरहेको धार्मिक यात्रा हो। यो परिक्रमा फागु पूर्णिमाका दिन जनकपुरधाम पुगेर समापन गरिन्छ। धार्मिक मान्यताअनुसार मन, वचन र कर्मले परिक्रमा गर्ने व्यक्तिको पाप नष्ट भई मनोकामना पूरा हुने र मोक्ष प्राप्ति हुने विश्वास गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments