रौतहटमा दर्ता प्रक्रिया पूरा नगरी सञ्चालन भएका औषधि पसलहरूमा कारबाही
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन १४ गते । औषधि व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगन्जबाट खटिएको अनुगमन टोलीले रौतहट जिल्लाका विभिन्न स्थानमा दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका पाँच औषधि पसलमा तालाबन्दी गरेको छ। चन्द्रपुर नगरपालिकामा रहेको चपुर सिटी हस्पिटलको फामेर्सी, डल्फिन फार्मेसी, आयु मेडिकल हल लगायतका पसलहरूमा दर्ता प्रक्रिया अपूर्ण रहेको पाइएपछि शाखा प्रमुख अरबिन्द बानियाँको नेतृत्वमा कारबाही गरिएको हो। औषधि व्यवस्था ऐन २०३५ बमोजिम यी फामेर्सी सञ्चालकहरूलाई कानूनी कारबाही अघि बढाइएको छ।
यसैगरी, पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर खण्डमा रहेको 'ट्रमा सेन्टर' को औषधि पसलले दर्ता प्रक्रिया अघि बढाए पनि पूर्ण नगरेकोले सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न सचेत गराइएको छ। नवीकरण नगरिएका फामेर्सीहरूलाई पनि सात दिनको समयसीमा दिइएको छ। बिना दर्ता फामेर्सी सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री गरेको अभियोगमा मौलापुरको पटेल मेडिकल हलका सञ्चालक ओमप्रकाश पटेलविरुद्ध जिल्ला अदालत गौरमा मुद्दा दर्ता गरिएको छ। बौधिमाई नगरपालिकाको कोपवामा रहेका दुई औषधि पसलमा सिलबन्दी गरिएको छ भने पछिल्लो तीन दिनमा रौतहटमा करिब दुई दर्जनभन्दा बढी औषधि पसलहरूको अनुगमन गरिएको छ। केही औषधि पसलहरूले अनुगमन टोलीको आगमनको जानकारी पाएर पसल नै नखोली सम्पर्कविहीन भएको पनि शाखा प्रमुख बानियाँले जानकारी दिनुभएको छ।
कमेन्ट गर्नुहोस्
view comments