गौर सेन्टर अस्पतालमा शल्यक्रिया पश्चात् बिरामीको मृत्यु, परिवारद्वारा छानबिनको माग
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन १२ गते । रौतहट जिल्लाको सदरमुकाम गौर–१ स्थित गौर सेन्टर हस्पिटलमा सर्जन डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेका छन्। गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको आन्द्राको शल्यक्रिया (अप्रेसन) पछि मृत्यु भएको भन्दै, मृतकका काका देवेन्द्र अधिकारीले दोषी चिकित्सक र अस्पताल प्रशासनमाथि कारबाहीको माग गरेका हुन्।
देवेन्द्रका अनुसार, लालुलाई पेट दुखाइका कारण शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो। प्रारम्भिक परीक्षणपछि मेडिकल अधिकृत डा. घनश्याम ठाकुरले आन्द्रा फुटेको बताउँदै, उपचारका लागि आवश्यक सुविधा नभएकोले डा. पंकज साहसँग सम्पर्क गर्न सुझाव दिए। त्यसपछि, डा. पंकजले गौर सेन्टर हस्पिटलमा अप्रेसन गरे। अप्रेसनपछि बिरामीको अवस्था गम्भीर भएपछि, उनलाई नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो, जहाँ डाक्टरले बिरामीको मृत्यु भएको घोषणा गरे।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले आन्द्राको अप्रेसनका लागि बिरामीलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गर्नुपर्नेमा, गौरकै निजी अस्पतालमा कसरी पठाइयो भन्ने अनुसन्धानको विषय भएको बताए। अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमीले घटनासँग सम्बन्धित डा. ठाकुर, साह र अन्जुमसँग लिखित स्पष्टीकरण सोध्न लागिएको जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments