विपन्न किसानका लागि कृषि खाद्य परियोजना सुरु
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन ११ गते । मधेश प्रदेशमा आर्थिक रूपमा कमजोर तथा विपन्न नागरिकका लागि कृषि खाद्य परियोजना शुभारम्भ गरिएको छ। प्रकृतिमा आधारित स्थानीय कृषि खाद्य प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विनयकुमार कर्णले नागरिक समाज परियोजनाको आज औपचारिक रूपमा उद्घाटन गर्नुभयो। सन् २०२५ देखि २०२८ सम्म सञ्चालन हुने यो परियोजना गणेशमान चारनाथ, सहिदनगर नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा कार्यान्वयन गरिने छ। परियोजनाको मुख्य लक्ष्य खाद्य सुरक्षामा सुधार ल्याउनुका साथै प्रकृतिमैत्री खाद्य प्रणालीलाई प्रवर्द्धन गर्नु रहेको छ।
परियोजनाले प्रत्यक्ष रूपमा पाँच हजार सीमान्तकृत परिवारका करिब २६ हजार ६१० व्यक्तिलाई लाभान्वित गर्नेछ। लाभान्वित हुनेहरूमा ५० प्रतिशत महिला, साना कृषक, भूमिहीन परिवार, कमला नदीबाट प्रभावित समुदाय, अति जोखिममा रहेका नागरिक, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा रोजगार गुमाएका युवा समावेश छन्। पाँच हजार परिवारलाई पुनःजीवित कृषि उत्पादनका लागि प्राविधिक ज्ञान, पूर्वाधार तालिम, कृषि उपकरण तथा बीउ वितरण गरिने सचिव कर्णले जानकारी दिनुभयो।
परियोजनाका लागि वेल्ट हैङ्गर हिल्फे संस्थाको सहयोग रहेको छ भने जानकी महिला जागरण समाज (ज्वास), आसमान नेपाल, जनचेतना अभियान नेपाल (प्याक) साझेदार संस्थाका रूपमा रहेका छन्। लक्षित पालिकामा दुई सय कृषक समूह तथा ५० नमूना कृषक समूह गठन गरिने छ। परियोजनाको शुभारम्भ कार्यक्रममा सहिदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिंह र गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख तुलसा पाण्डेले कृषि तथा पशुपन्छी क्षेत्रको वर्तमान अवस्थाका बारेमा आ–आफ्नो धारणा राखेका थिए। सचिव कर्णले देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३५ प्रतिशत भए पनि यसको अवस्था नाजुक रहेको बताउँदै कृषि प्रणालीलाई सुदृढ बनाउने दिशामा प्रदेश सरकारले पहल गरिरहेको उल्लेख गर्नुभयो।
कमेन्ट गर्नुहोस्
view comments