जलवायु परिवर्तनको असरबाट बच्न जलवायु सहनशील पशुपालन अपनाउन विज्ञहरूको सुझाव

3 महीना पहिले प्रकाशित

 

जनकपुरधाम, फागुन ८ गते । जलवायु परिवर्तनले कृषि र पशुपालन दुवै क्षेत्रमा प्रतिकूल प्रभाव पारिरहेको सन्दर्भमा, पशुपालकहरूले आउँदो दिनमा जलवायु सहनशील पशुपालन पद्धति अपनाउनुपर्ने विज्ञहरूले जोड दिएका छन्। यस सम्बन्धमा एफ.ए.ओ.को सहयोगमा केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालले धनुषाको नक्टाझिझमा आयोजना गरेको "जलवायु स्मार्ट डेरी उत्पादन अभ्यास" कार्यक्रममा विज्ञहरूले आफ्नो धारणा राखेका थिए।

विज्ञ श्याम यादवले कार्यक्रममा बताएअनुसार, जलवायु परिवर्तनका कारण तापक्रममा एक डिग्री सेल्सियसको वृद्धिले पशुहरूको खाना सेवनमा ३ देखि ५ प्रतिशतसम्म कमी आउने, जसले गर्दा पशुपालनको लागत बढ्ने र दूध उत्पादन घट्ने समस्या देखा पर्छ। यस्तै, मधेश प्रदेशका दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. शम्भू साहले जलवायु परिवर्तनले पशुमा आन्तरिक परजीवीको संक्रमण बढ्ने र भेक्टरबोर्न रोगको जोखिम बढ्ने देखिएको बताए। उनले दिगो पशुपालन विधि अपनाउँदा हरितगृह ग्यास उत्सर्जन कम गर्न र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न मद्दत पुग्ने जानकारी दिए।

कार्यक्रममा केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा भएको छलफलमा वरिष्ठ उपाध्यक्ष नथुनी यादव र हेफर इन्टरनेशनलका प्रविण सिंहले पनि जलवायु परिवर्तनको असरबाट पशुपालन र डेरी उत्पादनलाई बचाउने योजनाबद्ध कार्यहरूमा जोड दिए। कार्यक्रममा धनुषा जिल्लाका विभिन्न पालिकाका पशुपालक किसान र डेरी संचालकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?