धनुषाको विदेह नगरपालिकाबाट ८३ कर्मचारी बर्खास्त

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन ५ गते ।  धनुषाको विदेह नगरपालिकाले प्रशासनिक सुधारको क्रममा विभिन्न तहका ८३ जना कर्मचारीलाई बर्खास्त गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहले नगर प्रहरी, करार सेवाका कर्मचारी तथा डोर हाजिरीमा कार्यरत श्रमिकहरूलाई हटाइएको पुष्टि गर्नुभयो।

साहका अनुसार बर्खास्त गरिएका मध्ये १२ जना नगर प्रहरी, १० जना नयाँ नियुक्ति भएका कर्मचारी, ३५ जना डोर हाजिरीमा कार्यरत, ६ महिनाका लागि करारमा नियुक्त गरिएका २० जना र १ वर्षका लागि करारमा नियुक्त गरिएका ६ जना रहेका छन्। त्यस्तै, स्थायी कर्मचारीमध्ये छैटौँ तहका दानी ठाकुर र स्टोर विभागका भुला यादवलाई पाँच वर्षका लागि ग्रेड वृद्धि रोक्का गर्न सिफारिस गरिएको छ।

प्रशासकीय अधिकृत साहले भन्नुभयो, “नयाँ नियुक्त गरिएका १० कर्मचारीलाई परीक्षा लिने क्रममा वस्तुगत प्रश्नपत्र बाहिरिएको गुनासो आएपछि हटाइएको हो।” उहाँका अनुसार कार्यविधि विपरीत करार सेवामा नियुक्ति दिइएकाले र राज्यकोषको दुरुपयोग हुने गरी डोर हाजिरीमा कर्मचारी राखिएकाले पनि कारबाही गरिएको हो।

नगरपालिकामा सुशासन कायम गर्न र प्रशासनिक प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले यो कदम चालिएको प्रमुख प्रशासकीय अधिकृतले बताउनुभयो। तर, एकैपटक यति ठूलो संख्यामा कर्मचारी बर्खास्त गरिएपछि प्रभावित कर्मचारीहरूले विरोध जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?