किसान सूचीकरणमा सहभागिता बढाउन मधेश प्रदेश सरकारको आग्रह

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ३० गते ।  मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले किसान सूचीकरण कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ। जनकपुरधाममा किसान आयोगद्वारा आयोजित कार्यक्रममा मन्त्री क्षेत्रीले किसानको पहिचान बिना सरकारले दिने अनुदान र सेवा प्राप्त गर्न कठिन हुने बताउँदै किसानहरूलाई अनिवार्य रूपमा नाम दर्ता गराउन अनुरोध गर्नुभयो। आयोगको तथ्यांकअनुसार मधेश प्रदेशमा ३ लाख ३२ हजार २६० किसान रहेकामा हालसम्म ८० हजार ७६४ किसान मात्र सूचीकरणमा सहभागी भएका छन्।

मन्त्री क्षेत्रीले तीनै तहका सरकारबीच समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। किसान आयोगका सदस्य मञ्जु धिमालले पहिचान नहुँदा किसान लक्षित कार्यक्रम प्रभावकारी बन्न नसकेको बताउँदै किसानहरूलाई सचेत बन्न आग्रह गर्नुभयो। कार्यक्रममा किसान आयोगका सदस्य टेकबहादुर बोगटीको अध्यक्षतामा किसानका हक, अधिकार तथा सूचीकरणको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरियो। धनुषा, महोत्तरी, सिरहा, र सप्तरीका किसान तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा कृषिमा लगानी बढाउनु पर्ने र यसलाई प्राथमिक पेशाको रूपमा विकास गर्नुपर्नेमा वक्ताहरूले जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?