तीव्र गतिमा आएको टिपरको हावाले उछिट्टिएर बालक गम्भीर घाइते, स्थानीयद्वारा आन्दोलन

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ २७ गते । सिरहाको मिर्चैया नगरपालिका–७ छघरेस्थित मिर्चैया–कटारी राजमार्गमा गत पुष १० गते तीव्र गतिमा आएको टिपरको हावाको झोक्काले साइकलमा सवार १२ वर्षीय लोकेश श्रेष्ठलाई उछिट्ट्याउँदा उनी गम्भीर घाइते भएका छन्। राजमार्गमा लडेका लोकेशको मस्तिष्कमा गम्भीर चोट लागेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारमा हालसम्म पाँच लाखभन्दा बढी खर्च भइसकेको र अस्पतालले थप त्यति नै रकम मागेको उनका पिता रनबहादुर श्रेष्ठले बताएका छन्। आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको छ।

घटनामा संलग्न टिपर र चालकको खोजीका लागि प्रहरीमा निवेदन दिए पनि अहिलेसम्म कुनै चासो नदेखाएको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन्। आइतबार बिहानैदेखि मिर्चैया–कटारी राजमार्ग अवरुद्ध पार्दै स्थानीयले दोषीको खोजी र कारबाहीको माग गरेका छन्। यस राजमार्गमा दैनिक एक हजारभन्दा बढी टिपर चुनढुंगा बोकेर आवतजावत गर्छन्, जसको अनियन्त्रित गतिका कारण स्थानीय बासिन्दा जोखिममा परेका छन्। लोकेशको घटनापछि स्थानीयले सुरक्षा र न्यायको माग गर्दै आन्दोलन थालेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?