महाकुम्भ स्नानबाट फर्किने क्रममा पाँच नेपालीको मृत्यु

3 महीना पहिले प्रकाशित

जनकपुरधाम,माघ २० गते । भारतको उत्तर प्रदेश, प्रयागराजस्थित महाकुम्भ स्नान गरेर फर्किरहेका पाँच नेपाली श्रद्धालु दुर्घटनामा परी निधन भएका छन्। महोत्तरीसँग जोडिएको भारतको मधुवनी जिल्लामा शनिबार दिउँसो बीआर३२पीए ४६६१ नम्बरको स्कारपिओ गाडी दुर्घटनाग्रस्त हुँदा जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, मनरासिश्वा नगरपालिका–२ की ५० वर्षीया मनतारन देवी, धनुषा जिल्लाकी ३० वर्षीया अर्चना झा तथा नाम, थर नखुलेका सिरहा निवासी गाडी चालकको मृत्यु भएको हो। दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तुलालप्रसाद जैसवारले पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए।

उक्त दुर्घटनामा परी मृतक बालकृष्ण झाका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी तथा सात वर्षीया नातिनी सृष्टि झा गम्भीर घाइते भएका छन्। घाइतेहरूको हाल मुजफ्फरपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। जलेश्वर नगरपालिका–७ का वडा सदस्य सुल्तान कवारीका अनुसार दुर्घटना मधुवनी मन्दिर नजिकै मादापुर सडकमा भएको थियो। घटनास्थलमा भारतीय सुरक्षाकर्मीले तत्कालै उद्दार कार्य सञ्चालन गरे पनि गाडीमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भइसकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?