एचपिभी खोप अभियान अन्तिम चरणमा

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १७ गते ।  पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान महोत्तरीमा अन्तिम तयारीमा पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ४५ हजार ४६४ जना किशोरीलाई खोप लगाइनेछ। स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहका अनुसार खोप आइसकेको छ र स्वास्थ्यकर्मीको तालिमसमेत अन्तिम चरणमा पुगेको छ। माघ २२ देखि फागुन ८ गतेसम्म दुई चरणमा खोप अभियान सञ्चालन हुने जनाइएको छ।

पहिलो चरणमा माघ २२-३० गते जलेश्वर, मटिहानी, बलवा, मनरासिस्वा, लोहारपट्टी, पिपरा, र एकडारा गरी सात पालिकामा खोप लगाइनेछ। दोस्रो चरणमा फागुन २-८ गते बर्दीबास, रामगोपालपुर, भङ्गहा, औरही, गौशाला, सम्सी, सोनमा, र महोत्तरी गरी आठ पालिकामा खोप अभियान सञ्चालन हुनेछ। विद्यालय जाने ६ देखि १० कक्षाका छात्रा र विद्यालय बाहिरका १०-१४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिनेछ।

मधेश प्रदेशमा तीन लाख ६९ हजार १२४ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर ३,६७१ वटा खोप केन्द्र तोकिएको छ, जसमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन गरिनेछ। साथै, सात हजार ३४२ स्वयंसेविका र १,२७४ सुपरभाइजर खटाइनेछन्।

धनुषामा सबैभन्दा बढी ५६ हजार २८२ किशोरीलाई खोप लगाइनेछ। अन्य जिल्लाहरूमा क्रमशः पर्सामा ३८,६८६, बारामा ४५,५३५, रौतहटमा ४९,२६९, सर्लाहीमा ५१,७२४, महोत्तरीमा ४५,२८२, सिरहामा ४५,४६३, र सप्तरीमा ३६,७०१ किशोरी लक्षित छन्। निर्देशनालयका निर्देशक श्रवणकुमार नायकका अनुसार विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको सुरक्षित खोप भएकाले किशोरीहरूले निडर भएर खोप लगाउनुपर्ने बताइएको छ।

 

 

https://youtu.be/FUZy6hh04xU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?