मधेस प्रदेशको बजेट खर्च न्यून: चालु आवमा ५.८३ प्रतिशत मात्रै खर्च
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १५ गते । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा बजेट खर्च गरेको छ। मधेस प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्म कुल बजेटको पाँच दशमलव ८३ प्रतिशत अर्थात् रु दुई अर्ब ४४ करोड ६० लाख मात्र खर्च भएको छ। यसमा पुँजीगततर्फ एक दशमलव ३३ प्रतिशत र चालुतर्फ १३ दशमलव ५३ प्रतिशत मात्र खर्च भएको देखिन्छ। चालु आवका लागि प्रदेश सरकारले कुल रु ४१ अर्ब ९३ करोड ३८ लाख २० हजार बराबरको बजेट विनियोजन गरेको थियो, जसमा रु १५ अर्ब ३५ करोड ९१ लाख ४१ हजार चालुतर्फ र रु २६ अर्ब ५७ करोड ४६ लाख ७९ हजार पुँजीगततर्फ छुट्याइएको थियो।
प्रदेशका विभिन्न मन्त्रालयहरूले न्यून बजेट खर्च गरेका छन्। मुख्यमन्त्री कार्यालयले रु चार करोड ७५ लाख, अर्थ मन्त्रालयले रु चार करोड पाँच लाख, वाणिज्य तथा पर्यटन मन्त्रालयले रु सात करोड ९९ लाख खर्च गरेको छ। यस्तै, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले रु १५ करोड ५२ लाख, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले रु २८ करोड ८६ लाख, गृह, सञ्चार तथा कानुन मन्त्रालयले रु तीन करोड ४८ लाख खर्च गरेको छ।
राजनीतिक अस्थिरता र समयमा बजेट निकासा नहुँदा बजेट खर्चमा समस्या भएको सम्बन्धित निकायले जनाएका छन्। जसपा नेपालका सचेतक तथा प्रदेश सांसद रामअशिष यादवले सरकारको कमीकमजोरीकै कारण बजेट खर्चमा समस्या देखिएको टिप्पणी गर्नुभयो। बजेट खर्चको समस्या समाधान गर्न प्रदेश सरकारले सङ्कल्प प्रस्ताव पारित गरे पनि त्यसको कार्यान्वयनमा चुनौती देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments