मिटरब्याजविरुद्ध जनकपुरधाममा किसान-मजदुरको चौथो चरणको आन्दोलन

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १५ गते ।  मिटरब्याजको चपेटामा परेका किसान र मजदुरहरूले जनकपुरधाममा चौथो चरणको आन्दोलन सुरु गरेका छन्। किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि सडक अवरोध गर्दै जनजागरण अभियान थालनी गरेको हो। अभियानले मिटरब्याजको समस्याबारे जनचेतना फैलाउँदै सरकारको उदासीनताविरुद्ध आवाज बुलन्द गर्ने उद्देश्य राखेको छ।

किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले अभियान शुभारम्भ गर्दै संसदमा मिटरब्याजसम्बन्धी कानुन बने पनि कार्यान्वयनमा ढिलाई भएको र पीडितहरूको समस्या जस्ताको तस्तै रहेको भन्दै असन्तोष व्यक्त गर्नुभयो। उहाँले देशभर ६० हजार पीडितहरूले मुद्दा दायर गरे पनि १० प्रतिशत समस्या मात्र समाधान भएको बताए। कुशवाहाले यदि सरकारको उदासीनता जारी रह्यो भने आन्दोलनको स्वरूप परिवर्तन गरिने चेतावनी दिनुभयो।

आन्दोलनका केन्द्रीय महासचिव मनोज कुमार पासवानले सरकारसँग तीन चरणका वार्ताहरू भए पनि सम्झौताका बुँदाहरू कार्यान्वयन नभएको कारण चौथो चरणको आन्दोलन सुरु गरिएको बताउनुभयो। उहाँले मिटरब्याज पीडितहरूको शोषण अझै बढेको र कार्यदलले ठोस कदम चाल्न नसकेको आरोप लगाउनुभयो।

आन्दोलनले मिटरब्याजी साहु, वित्तीय माफिया, भू-माफिया र उनीहरूलाई संरक्षण गर्ने शक्तिहरूको विरुद्ध जनजागरण फैलाउने र न्यायको लागि अन्तिम सङ्घर्ष गर्ने प्रतिबद्धता जनाएको छ। नेताहरूले यदि राज्यले मिटरब्याजका मुद्दामा चाँडै गम्भीर कदम चालेन भने आन्दोलनलाई थप व्यापक र सशक्त बनाइने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?