शीतलहरको प्रभाव: तराईको जनजीवन, स्वास्थ्य र कृषि अस्तव्यस्त
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ११ गते । तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले जनजीवनमा गम्भीर असर पुर्याएको छ। चीसो हावा, बाक्लो कुहिरो, र वर्षाझैं परिरहेको तुषारोका कारण सडक चहलपहल घट्नुका साथै यातायातमा समस्या देखिएको छ। बर्दीबासको पूर्वपश्चिम र बीपी राजमार्गजस्ता सडकहरूमा सामान्य रूपमा सवारी आवागमन मात्र भइरहेको छ। शीतलहरका कारण अस्पतालमा दम, श्वासप्रश्वास समस्या, र कोल्ड डाइरिया जस्ता रोगीको संख्या बढेको छ। बर्दीबास अस्पतालका डा. रितेश घिमिरेका अनुसार दैनिक ८० देखि ९० जना बिरामी आउने गरेका छन्, भने आकस्मिक कक्षमा गम्भीर अवस्थाका १५ जनासम्म भर्ना हुने गरेका छन्।
शीतलहरले कृषि र उद्योगमा पनि गम्भीर असर पुर्याएको छ। कृषि मजदुर चिसोका कारण काममा जान नसक्दा चिनी मिलहरूमा उखुको आपूर्ति ठप्पप्रायः भएको छ। चिसोले आलु, गोलभेंडा, र लहरे तरकारीमा डढुवा रोगको प्रकोप बढाएको कृषि ज्ञान केन्द्रले जनाएको छ। विपद् व्यवस्थापन समितिको बैठकले चिसोबाट प्रभावितहरूलाई उद्धार गर्ने निर्णय गरेपछि नेपाली सेना र डिभिजन वन कार्यालयले न्यानो कपडा र दाउरा वितरण सुरु गरेका छन्। सेनाले ७०० विपन्न परिवारलाई कम्बल वितरण गरेको छ, भने डिभिजन वन कार्यालयले हालसम्म १५ चट्टा दाउरा वितरण गरेको छ। शीतलहर अझै लम्बिने अनुमानले थप राहत कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments