विवाहको उमेर हद २० वर्ष नै राख्न माग

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ११ गते ।  विवाहको कानूनी उमेर २० वर्ष नै यथावत राख्न माग गर्दै धनुषाका किशोरीहरूले मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई बिहीबार ज्ञापनपत्र बुझाएका छन्। मुलुकी देवानी संहिता २०७४ मा विवाहको उमेर २० वर्ष तोकिएको भए पनि प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको उपसमितिले २०८१ माघ २ गते विवाहको उमेर १८ वर्षमा झार्न दिएको सुझावप्रति किशोरीहरूले कडा आपत्ति जनाएका हुन्। गर्लस च्याम्पियन सञ्जालका सचिव विमला राईको नेतृत्वमा गएको टोलीमा लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरसहित अन्य संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

किशोरीहरूले बालबालिकाको शिक्षा, प्रजनन स्वास्थ्य, मानसिक र शारीरिक परिपक्वता, तथा सम्मानजनक पारिवारिक जीवनलाई ध्यानमा राखी विवाहको उमेर २० वर्ष तोकिएको बताएका छन्। बाल विवाह रोक्न कार्यरत विभिन्न संस्थाहरूले विवाहको उमेर घटाउन गरिएको प्रस्ताव समाजका लागि हानिकारक हुने दाबी गर्दै अध्ययन, अनुसन्धान तथा वैज्ञानिक तथ्यका आधारमा २० वर्ष नै उपयुक्त उमेर भएको तर्क गरेका छन्। ज्ञापनपत्र बुझ्दै मन्त्री जयसवालले किशोरीहरूको मागलाई जायज ठहर गर्दै यो विषय माथिल्लो तहमा छलफलका लागि पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्य र शिक्षाका दृष्टिले उमेर घटाउनुभन्दा जनचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?