चिसोका कारण श्वासप्रश्वासका बिरामी बढे
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ९ गते । महोत्तरीमा बढ्दो चिसोका कारण श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढेको छ। जिल्लाका विभिन्न अस्पतालले बिरामीको चापमा उल्लेखनीय वृद्धि भएको जनाएका छन्। सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा गत सात दिनदेखि दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका छन्। मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहका अनुसार चिसोले दमका बिरामीको संख्या बढाएको छ, जसमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका उमेर समूहका बिरामी बढी छन्।
बर्दिबास अस्पतालमा पनि माघ लागेसँगै बिरामीको चाप बढेर दैनिक ११० देखि १२५ जनासम्म पुगेको छ। यहाँ उपचारका लागि आउने बिरामीमध्ये महिलाको संख्या बढी रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीपकुमार ठाकुरले जानकारी दिनुभयो। गौशाला र सम्सीस्थित प्राथमिक उपचार केन्द्रहरूमा पनि बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साहले चिसोबाट प्रभावित बिरामीको संख्या बढ्न थालेपछि स्वास्थ्य सेवामा अतिरिक्त चाप परेको बताए।
कमेन्ट गर्नुहोस्
view comments