मधेश प्रदेश सभाले बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव पारित

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ७ गते ।  मधेश प्रदेश सभाको चौथो अधिवेशनको सातौँ बैठकले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ। आइतबार सम्पन्न सभामा उपस्थित ५९ जना सभासद्हरूमध्ये ४३ जना प्रस्तावको पक्षमा र १६ जना विपक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो। सत्ता गठबन्धन दल लोसपाका प्रदेश सांसद रुपाकुमारी यादवले उक्त प्रस्ताव सदनमा प्रस्तुत गर्नुभएको थियो।

प्रस्तावक यादवलाई नेकपा (एमाले) की पल्टीदेवी महरा, कांग्रेसकी अञ्जना पण्डित, जनमतकी हसिना खातुन, नेकपा (एकीकृत समाजवादी) का रत्नेश्वर गोइत, र राप्रपाका कञ्चन विच्छाले समर्थन जनाएका थिए। समर्थकमध्ये एकीकृत समाजवादी र राप्रपा प्रतिपक्ष दलका सांसद हुन्। बजेट वक्तव्यको १४७ नम्बर बुँदामा उपभोक्ता समितिबाट काम गराउनका लागि रहेको बाधा हटाउन सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको थियो। प्रस्तावले ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र सोभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने व्यवस्था पारित गरेको छ। गत पुस २९ गते दर्ता भएको यो प्रस्ताव सभामुखको सैद्धान्तिक सहमति पश्चात् आइतबार पेस गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?