महोत्तरीका १३ पालिकामा हुलाक कार्यालय स्थापना, ग्रामीण सेवामा सुलभता
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ४ गते । ‘एक पालिका, एक हुलाक’ अवधारणाअन्तर्गत महोत्तरी जिल्लाका १५ पालिकामध्ये १३ पालिकामा हुलाक कार्यालय स्थापना भइसकेको छ। जिल्ला हुलाक कार्यालय महोत्तरीका प्रमुख रामचन्द्र साहका अनुसार, जलेश्वर नगरपालिकामा जिल्ला हुलाक कार्यालय नै रहेको छ भने औरही नगरपालिकामा हुलाक कार्यालय स्थापनाको प्रक्रिया चाँडै सम्पन्न हुनेछ। वुधबार मात्र सोनमा गाउँपालिकामा हुलाक कार्यालय उद्घाटन गरिएको थियो, जहाँ गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले यस कदमले स्थानीय जनतालाई सरल र सहज सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।
हुलाक कार्यालयले सरकारी तथा व्यक्तिगत पत्राचार, पार्सल सेवा, सरकारी सूचना आदानप्रदान, मनी ट्रान्सफर, बचत बैंक, बीमा, दु्रत डाँकलगायत सेवाहरू उपलब्ध गराउँदै आएको छ। सूचना प्रविधिमा तीव्र विकास भए पनि हुलाक सेवाले आफ्नो प्रभावकारी भूमिका निभाइरहेको छ। सोनमा गाउँपालिकामा आयोजित कार्यक्रममा विभिन्न सरकारी शाखाका प्रमुख र कर्मचारीहरूको उपस्थिति रहेको थियो। सरकारी सेवा गाउँसम्म पुर्याउने यो प्रयासले ग्रामीण क्षेत्रमा सुलभता र पहुँच विस्तार गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments