बीपी राजमार्गमा माइक्रोबस दुर्घटना: एक जनाको मृत्यु, १२ घाइते

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ४ गते । काठमाडौँबाट जनकपुर जाँदै गरेको माइक्रोबस बिहीबार साँझ बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-३ स्थित कानढुंग्रीमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा १२ जना यात्रु घाइते भएका थिए, जसमध्ये जनकपुरधाम-१० निवासी ५० वर्षीय निर्मल गुप्ताको उपचारका क्रममा धुलिखेल अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिएका छन्।

घटनामा घाइते अन्य यात्रुको काठमाडौँ र खुर्कोटस्थित सुनकोशी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बसका चालक ३२ वर्षीय सञ्जयकुमार महतो नियन्त्रणमा रहेका छन् र घटनाको थप अनुसन्धान जारी छ। दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?