भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना र मापदण्डको पालना अपरिहार्य
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ३ गते । भूकम्पीय जोखिम न्यूनीकरणका लागि भूकम्पप्रतिरोधी संरचना निर्माण र नागरिक सचेतना आवश्यक रहेकोमा सप्तरीमा आयोजित कार्यक्रममा सहभागीहरूले जोड दिएका छन्। २७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपाल भूकम्पको उच्च जोखिममा रहेको उल्लेख गर्दै सुरक्षित आवास निर्माणमा प्राथमिकता दिनुपर्ने बताए। उनले नागरिकलाई राष्ट्रिय भवन निर्माण आचारसंहिता पालना गर्न र संरचनाहरू सुरक्षित महसुस हुने गरी निर्माण गर्न आग्रह गरे। प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले पनि भौतिक संरचना बलियो बनाएर भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न नागरिकहरूलाई सचेत गराए।
वीरगन्जमा आयोजित कार्यक्रमका वक्ताहरूले भवन निर्माणमा मापदण्डको पालना नगर्नु भूकम्पीय जोखिम बढ्नुको प्रमुख कारण रहेको औँल्याए। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सस्तो खर्च खोजेर निर्माण मापदण्ड पालना नगर्दा जोखिम बढेको बताए। साथै, विपद् व्यवस्थापनमा कानुनी प्रक्रिया, भौगोलिक कठिनाइ, र नागरिक सचेतनाको कमीजस्ता चुनौतीहरूको सामना गर्नुपर्नेमा सरोकारवालाहरूले ध्यानाकर्षण गराए। स्थानीय तहको उदासीनता र पूर्वतयारीको कमीले पनि विपद् जोखिम न्यूनीकरण प्रभावकारी हुन नसकेकोप्रति सरोकारवालाहरूले गुनासो गरे।
कमेन्ट गर्नुहोस्
view comments