धनुषाधाममा मकर मेला सुरु, देश-विदेशका श्रद्धालुको सहभागिता
6 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २ गते । धनुषा जिल्लाको प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा मंगलवार बिहानैदेखि एकमहिने मकर मेला सुरु भएको छ। मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिकाले गर्दै आएको छ। देशका विभिन्न क्षेत्र तथा छिमेकी देश भारतबाट समेत श्रद्धालुहरूको सहभागिता रहेको मेला धार्मिक र सांस्कृतिक महत्वले भरिपूर्ण छ। किंवदन्तीअनुसार सीता स्वयंबरका बेला श्रीरामले धनुष उठाउँदा त्यसको एक भाग आकाशमा, अर्को पातालमा र बीचको भाग धनुषाधाममा खसेको मानिन्छ।
धनुषको टुक्रा खसेको पोखरी "धनुष सागर" का नामले प्रसिद्ध छ, जहाँ धनुष बाबाको मन्दिर रहेको छ। हरेक वर्ष माघ महिनामा यहाँ मेला लाग्ने परम्परा छ। भक्तजनले धनुषको टुक्रामा जल तथा पुष्प अर्पण गर्दै धार्मिक विधि पूरा गर्छन्। पाँच मकर स्नान गरी धनुष भगवानको दर्शन गरेपछि सय रामेश्वरमको पुण्य प्राप्त हुने विश्वासले श्रद्धालुहरू यस मेलामा आउँछन्। धनुषाधाम मकर मेला धार्मिक आस्थाको केन्द्रमात्र नभई सांस्कृतिक एकताको प्रतीक बनेको छ।
कमेन्ट गर्नुहोस्
view comments