सर्लाहीमा अपहरण परेका भारतीय बालकको सुरक्षित उद्धार, तीन जना पक्राउ
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, माघ १ गते । सर्लाही प्रहरीले अपहरणमा परेका १५ वर्षीय भारतीय बालकलाई सुरक्षित रूपमा उद्धार गरेको छ। बालकलाई सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-४ स्थित रामजी साहको घरबाट सकुशल मुक्त गरिएको हो।
अपहरणमा संलग्न भएको आरोपमा ६८ वर्षीय रामजी साह, १९ वर्षीय विक्रम पासवान, र बिहारको सितामढी जिल्लाका २७ वर्षीय प्रवचन साहलाई पक्राउ गरिएको छ। सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ परेकाहरूको साथबाट कटुवा पेस्तोल, दुई राउन्ड गोली, मोबाइल, धारिलो चक्कु, हथौडा, र बीआर ०६बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरिएको छ।
प्रहरीले बालकलाई उद्धार गरी सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको छ। पक्राउ परेकाविरुद्ध अपहरण, शारीरिक बन्धक, र हातहतियार खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान जारी छ। जिल्ला अदालत मलंगवाले सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments