महोत्तरीका पाँच पालिकामा विद्यालय एक हप्ता बन्द, चिसोले जनजीवन प्रभावित

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस २४ गते । विगत केही दिनदेखि बढेको कठ्याङ्ग्रिदो जाडो र शीतलहरका कारण महोत्तरी जिल्लाका पाँच पालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय एक साताका लागि बन्द गरेका छन्। जलेश्वर, मनरासिस्वा, पिपरा, सोनमा, र एकडारा पालिकाले पठनपाठन असहज भएको भन्दै आजदेखि लागू हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। जलेश्वर, मनरासिस्वा, सोनमा, र पिपरा पालिकाले पुस २९ सम्म विद्यालय बन्द गर्ने जनाएका छन् भने एकडाराले माघ १ गतेसम्मका लागि बन्द गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन्, जसमध्ये पाँच पालिकाले साना बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै बर्खे बिदाबाट कट्टा गर्ने गरी जाडो बिदा प्रदान गरेका छन्। तराई–मधेसमा दुई–तीन दिनदेखि चिसो हावा र शीतलहर चल्न थालेपछि बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार असहनीय चिसोका कारण जनजीवन प्रभावित भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?