लहान नगरपालिकाद्वारा निःशुल्क आँखा शिविर सञ्चालन, मोतियाबिन्दुका बिरामीलाई राहत
21 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुस २४ गते । लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गरी कार्यक्रमको आधार तयार गरेका छन्। नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि प्रसिद्ध मानिन्छ। सम्झौताअनुसार, शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीको शल्यक्रियाको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्नेछ। नगर प्रमुख चौधरीका अनुसार प्रत्येक वडामा शिविर आयोजना गरिनेछ, जसले गरिब तथा विपन्न समुदायका नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउनेछ।
नगरपालिकाले विगत दुई वर्षदेखि यस्ता शिविर सञ्चालन गर्दै आएको छ। पहिलो वर्ष सात हजार जनाले आँखा जाँच गराउँदा एक हजार ९२ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको थियो भने दोस्रो वर्ष तीन हजार जनाको आँखा जाँच गराउँदा सात सय बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो। यस वर्ष एक हजार मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको नगर प्रमुख चौधरीले बताए। जाडोको समयमा आँखाको रोगको सङ्क्रमण धेरै हुने हुँदा गरिब तथा विपन्न समुदायलाई निःशुल्क शिविरले ठूलो राहत मिल्ने विश्वास व्यक्त गर्दै अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले पनि कार्यक्रमको महत्त्व पुष्टि गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments