महोत्तरीका दलित परिवारलाई सेनाबाट न्यानो सहयोग
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस २१ गते । महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारहरूले नेपाली सेनाको सहयोगमा न्यानो ओढ्ने प्राप्त गरेका छन्। शीतलहरका कारण चिसोबाट कष्ट झेलिरहेका मुसहर र डोम समुदायका १२३ परिवारलाई गोरखनाथ गण, परिकौलीले शनिबार ऊनी कम्बल वितरण गरेको हो। राहतस्वरूप प्रदान गरिएका यी कम्बलले परिवारहरूलाई चिसोबाट केही हदसम्म राहत पुर्याएको छ।
श्रीराम माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा गोरखनाथ गणका प्रमुख सेनानी विनोदविकास पाठक, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल, र सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले कम्बल वितरण गरे। नेपाली सेनाले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि शीतलहर प्रभावित बस्तीहरूमा कम्बल वितरण, चोकचोकमा आगो बाल्ने र बटुवालाई तातो चिया खुवाउने जस्ता सहयोगात्मक कार्य गरिरहेको छ। गणपति प्रमुख सेनानी पाठकले जनताको दुःखमा साथ दिन गरिब बस्तीमा कम्बल वितरण गरिएको बताएका छन्।
नगरप्रमुख मण्डलले सेनाले चिसोबाट प्रभावित अतिविपन्न परिवारका लागि देखाएको यो पहल प्रशंसनीय भएको बताए। शीतलहरका कारण महोत्तरीको सुदूर दक्षिण र मध्यभेगमा सर्वसाधारण कठिन अवस्थामा रहेका बेला सेनाको यस्तो सहयोगले ठूलो राहत पुर्याएको स्थानीयहरू बताउँछन्। मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलले सेनाको यो कार्यले स्थानीय समुदायलाई सहयोग र मानवता प्रदर्शन गरेको जनाए। समारोहमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी, जनप्रतिनिधि, र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments