सर्लाहीमा मापसे चेकजाँचको क्रममा प्रहरी र स्थानीयबीच झडप

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस २१ गते । सर्लाहीको रामनगर गाउँपालिकामा मापसे चेकजाँचको क्रममा स्थानीय समूह र प्रहरीबीच झडप हुँदा अवस्था तनावपूर्ण बनेको छ। झडपको क्रममा प्रहरीमाथि आक्रमण भएपछि पाँच राउण्ड हवाई फायर भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवास बोहराले जानकारी दिएका छन्। घटना रामनगर गाउँपालिका-५, बैजनाथचोकमा मापसे जाँचको क्रममा भएको हो।

प्रहरीका अनुसार हिजो राति करिब ९ बजेतिर इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख प्रहरी निरीक्षक उज्वल कार्कीको नेतृत्वमा मापसे चेकजाँच चलिरहेको बेला केही युवाहरूले अवरोध खडा गरे। त्यसपछि वडा नं. ५ का वडाध्यक्ष श्रीनन्दन रायको नेतृत्वमा करिब डेढ सय व्यक्तिको समूहले लाठी र ढुंगाले प्रहरीमाथि आक्रमण गरेको प्रहरीको दावी छ। झडपको क्रममा प्रहरी हवल्दार शैलेन्द्र राय यादव गम्भीर घाइते भएका छन्। उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ र हाल जनकपुर न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

स्थिति नियन्त्रण गर्न सर्लाहीका डिएसपीको कमाण्डमा थप प्रहरी परिचालन गरियो। प्रहरीको तीन नट तीन राइफलबाट पाँच राउण्ड हवाई फायर गरियो। प्रवक्ता बोहराका अनुसार झडपका क्रममा प्रहरीतर्फ चोटपटक भए पनि स्थानीय समूहतर्फ कुनै क्षति नभएको बताइएको छ। यस घटनाले रामनगर क्षेत्रमा सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?