मधेश प्रदेशमा विपन्न छात्राका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन
4 महीना पहिले प्रकाशित

जनकपुरधाम, पुस १७ गते । मधेश प्रदेश सरकारले सीमान्तकृत तथा विपन्न समुदायका छ सयभन्दा बढी छात्राका लागि छात्रवृत्ति दिने प्रक्रिया अघि बढाएको छ। उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न प्रदेश सरकारले दलित, मुस्लिम, विपन्न, र जेहेनदार छात्रालाई लक्षित गर्दै यो कार्यक्रम अघि सारेको हो। शिक्षा निर्देशनालयका निमित्त निर्देशक ठुलोबाबु दाहालले लाभग्राहीको छनोट अन्तिम चरणमा रहेको र निर्धारित समूहका छात्रालाई सामान्य धारतर्फ २५ हजार तथा प्राविधिक धारतर्फ ३५ हजार रुपियाँ वार्षिक छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिनुभयो। यसका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले १ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ।
प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आर्थिक अभावका कारण छात्राहरूको पढाइ अवरुद्ध हुने समस्या समाधान गर्न र छोरी शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। गत मङ्सिरमा दरखास्त आह्वान गरिएको यस कार्यक्रममा एक हजार ७१ दरखास्त प्राप्त भइसकेको र विभिन्न जिल्लाबाट सङ्कलन भइरहेको निर्देशनालयका अधिकारीहरूले जनाएका छन्। छनोटमा परेका छात्राहरूको खातामा प्रत्यक्ष रूपमा रकम पठाइने व्यवस्था गरिएको छ। जनकपुरधामस्थित निर्देशनालय र आठ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय कार्यालयमार्फत दरखास्त व्यवस्थापन गरिएको थियो।
कमेन्ट गर्नुहोस्
view comments