रौतहटको पासवान टोलमा मध्यरात भीषण आगलागी: लाखौँको क्षति, मानविय क्षति शून्य
5 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस १५ गते । रौतहटको पूर्वी भेग, राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आइतबार मध्यरात भएको भीषण आगलागीले आधा दर्जनभन्दा बढी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट लाखौँ रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ। घटनाको सुरुवात पताही बस्ने जगतनाथ पासवानको खरले बनेको घरनजिकै बालिएको घुरबाट भएको प्रहरीले जनाएको छ।
घटनामा बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान र प्रदीप पासवानलगायत सात जनाका घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार, आगलागीबाट ८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीको खबर प्राप्त भएपछि बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाह नेतृत्वमा १० जना, प्रहरी चौकी बसन्तपुरका असई रामलगन दास नेतृत्वमा ५ जना, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरूको सहकार्यमा बिहान ३:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। घटनामा कुनै मानवीय क्षति नभएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments