सर्लाहीका वडाध्यक्ष नन्दलाल महतोको निधन

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस ११ गते । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ। कलेजोको क्यान्सरबाट पीडित महतोको उपचारका क्रममा चितवनको भरतपुरमा बुधबार राति निधन भएको हो। नेपाली काँग्रेसको तर्फबाट २०७२ र २०७९ को स्थानीय तह निर्वाचनमा लगातार दुई पटक वडाध्यक्षमा निर्वाचित महतोले आफ्नो नेतृत्वदायी भूमिकाबाट गाउँको विकास र समृद्धिमा योगदान पुर्‍याउनुभएको थियो। साथै, उहाँ २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समितिको अध्यक्ष पदमा पनि रहेर सेवा दिनुभएको थियो।

महतोको पार्थिव शरीर बिहीबार बिहान भरतपुरबाट घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको छ। बसबरिया गाउँपालिकाका नेपाली काँग्रेसका नेता गजेन्द्र साहका अनुसार महतोको निधनले गाउँपालिकालाई ठूलो क्षति पुगेको छ। वडाध्यक्ष महतोको सम्मानमा बसबरिया गाउँपालिकाले बिहीबार (आज) शोक स्वरूप एक दिनका लागि गाउँपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?